काठमाडौं— नेपाली कांग्रेसका पूर्वसांसद तथा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा सवा ३७ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ३७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २४ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा २८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवमा २६ प्रतिशत नाफा कमाएको छ । कम्पनीले सन् २०२४ मा ३३ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीका अनुसार सन् २०२४ र सन् २०२५ मा कार्यशील पुँजी ऋणमा निर्भरता हुँदा उच्च ब्याजका कारण घाटा व्यहोरेको उल्लेख गरेको छ । कम्पनीको त्यस्ता ऋण सन् २०२४ मा १४ करोड ९० लाख रुपैयाँ रहेकोमा सन् २०२५ मा १६ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

सन् १९८७ मा स्थापना भएको कम्पनी ‘क’ वर्गको निर्माण कम्पनी हो । कम्पनीले देशभर सडक, भवन, पुल निर्माण गर्दै आएको छ । कम्पनीले एक्लै र अन्य कम्पनीसँग जोइन्ट भेन्चरमा निर्माण कार्य गर्दै आएको छ । कम्पनीको कुल सञ्चित नगद ४ करोड रुपैयाँ रहेको छ । सन् २०२४ मा ९० लाख रुपैयाँ थियो ।

लक्ष्मीमाया लामा र दीपक थिङको शतप्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको प्रबन्ध निर्देशकमा पूर्णबहादुर तामाङ छन् ।