बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। पहिलो प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका उनले अन्ततः दोस्रो चरणको मतदानबिनै नेतृत्व हात पारेका हुन्।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा शालिकरामले १९९ मत प्राप्त गरेका थिए। तर, आवश्यक बहुमत नपुग्दा दोस्रो चरणको निर्वाचन हुने तयारी गरिएको थियो। निकटतम प्रतिद्वन्द्वी गोपाल घिमिरेले समर्थन जनाएपछि भने दोस्रो चरणको मतदान नगरी शालिकरामलाई विजयी घोषणा गरिएको हो।

निर्वाचनमा ६ जना उम्मेदवार मैदानमा उत्रिएका थिए। गोपाल घिमिरेले ८७, गणेश पौडेलले ८४, डा। राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।

अधिवेशनमा ८४३ प्रतिनिधि मतदाता रहेकामा ५५२ मत खसेको थियो। अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्षसहितका बाँकी पदमा सहमति जुटाउने प्रयास भइरहेको रास्वपाले जनाएको छ।