काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–चीन सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र वाङ यीबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार विस्तार तथा क्षेत्रीय हितका विविध विषयमा विस्तृत छलफल हुनेछ। दुवै देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषय पनि वार्ताको मुख्य एजेन्डामा रहने बताइएको छ।
बेइजिङ बसाइका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। त्यससँगै नेपालमा लगानी आकर्षित गर्ने उद्देश्यले नेपाली दूतावासले आयोजना गर्ने विशेष लगानी सम्मेलनमा सहभागी हुँदै चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्।
भ्रमणकै अवसरमा बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा स्वागत समारोह आयोजना गर्ने भएको छ, जहाँ उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
सरकारले यस भ्रमणलाई आर्थिक कूटनीति र दुई देशबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ। मन्त्री खनाल आगामी ३ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।






































