काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अशक्त व्यक्तिका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रममा महानगरले ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियान सञ्चालन गर्ने उल्लेख गरेको हो। यसअन्तर्गत वृद्धवृद्धा र अशक्त नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क प्रदान गरिनेछ।

महानगरले ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने योजना पनि अघि सारेको छ। यस्तै, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, एकल महिला, शहीद परिवार तथा अन्य पछाडि परेका समुदायका लागि लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाइने महानगरको भनाइ छ।

‘एक वडा, एक नमूना कार्यक्रम’लाई संस्थागत गर्दै स्थानीय स्तरमै विकास र सेवाको पहुँच विस्तार गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा राखिएको छ। महानगरले ‘मानवीयताको शहर’ अवधारणालाई कार्यान्वयन गर्न परम्परागत तथा आधुनिक सीप, कला र ज्ञानको प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था समेत गर्ने जनाएको छ।

यस कार्यक्रमले विशेष गरी घरबाट बाहिर निस्कन कठिनाइ हुने ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा आम मानिसले गरेका छन् ।