काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने लक्ष्यसहित नयाँ नीति सार्वजनिक गरेको छ। महानगरले अब शहरको सौन्दर्य बिगार्ने विज्ञापन सामग्रीमाथि कडाइ गर्ने भएको छ भने पुरानो काठमाडौंको पार्किङ समस्याको समाधान खोज्न पनि विशेष योजना अघि सारेको छ।

आर्थिक वर्ष २०८३ ।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यबाहक प्रमुख सुनिता डंगोलले अव्यवस्थित होर्डिङ बोर्ड, जथाभावी राखिएका विज्ञापन तथा शहरी सौन्दर्यमा असर पुर्‍याउने सामग्री हटाउने अभियानलाई प्राथमिकता दिइने बताइन्।

महानगरले सुशासन, प्रविधिमैत्री सेवा र शहरी व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ कार्यक्रमहरू अघि सारेको छ। यसअन्तर्गत सबै वडा र महानगर कार्यालयमा एकद्वार सेवा प्रणालीलाई थप प्रभावकारी बनाइनेछ। यस्तै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ‘सिक्दै जाँदा कमाउनुहोस्’ कार्यक्रम सञ्चालन गरिने भएको छ। इन्टर्नसिप, फेलोसिप र पार्ट–टाइम अवसरमार्फत विद्यार्थीलाई व्यवहारिक अनुभवसँगै आम्दानीको अवसर उपलब्ध गराउने महानगरको योजना छ।

काठमाडौंको पुरानो समस्या मानिएको पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। नयाँसडक र आसपासका क्षेत्रमा देखिएको चाप कम गर्न नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा बहुतले पार्किङ निर्माणका लागि संघीय सरकारसँग पहल गरिने भएको छ। महानगरले स्थानीय विवाद समाधानमा मेलमिलापलाई प्राथमिकता दिने, महानगर प्रहरीको भूमिका थप सशक्त बनाउने तथा नेपाल प्रहरी र समुदायसँगको सहकार्य बढाउने नीति पनि अघि सारेको छ।

यी योजनाले काठमाडौंलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक शहरका रूपमा विकास गर्न सहयोग पुग्नेछ आम नागरिकको अपेक्षा रहेको छ ।