काठमाडौं । नेकपा (एमाले) ले संविधान संशोधनसम्बन्धी आफ्नो धारणा स्पष्ट पार्न आन्तरिक गृहकार्य तीव्र बनाएको छ। त्यसअन्तर्गत गठन गरिएको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
कार्यदलको नेतृत्व उपाध्यक्ष विष्णु पौडेल ले गरिरहेका छन्। बैठकमा संविधानका विभिन्न पक्ष, कार्यान्वयनका अनुभव तथा सम्भावित संशोधनका विषयमा छलफल भइरहेको जनाइएको छ। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल लगायतका सदस्य सहभागी छन्।
बैठकबाट तयार हुने सुझाव प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइनेछ। त्यसपछि एमालेले औपचारिक धारणा तय गर्दै संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसमा आफ्नो एजेन्डा प्रस्तुत गर्ने तयारी गरेको छ। संविधान संशोधनको विषय फेरि राजनीतिक केन्द्रबिन्दु बन्न थालेका बेला एमालेले यस्तो पहल गरेको हो ।






































