काठमाडौं । विभिन्न कम्युनिस्ट धारसँग आबद्ध दलित संगठनहरूको एकीकरणपछि नेकपाले नेपाल दलित मोर्चा गठन गरेको छ।
काठमाडौंमा सुरु भएको एकता बैठकमा ५३३ सदस्यीय केन्द्रीय समिति र ६७ सदस्यीय सचिवालय घोषणा गरिएको हो। पार्टीका दलित तथा सीमान्तकृत अल्पसंख्यक विभाग प्रमुख परशुराम रम्तेलले नयाँ नेतृत्वको घोषणा गरेका हुन्।
नवगठित मोर्चाको संयोजकमा दलजित श्रीपाली र सहसंयोजकमा रामऔतार पासवान चयन भएका छन्। दुवै नेता पूर्व संविधानसभा सदस्यसमेत हुन्। मोर्चा गठनका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी तथा नेकपा बहुमत निकट विभिन्न दलित संगठनहरू एकताबद्ध भएका छन्।
आइतबारबाट सुरु भएको बैठक सोमबारसम्म चल्ने बताइएको छ। बैठकमा दलित समुदायका अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका विषयमा साझा रणनीति तय गरिने जनाइएको छ। नवनियुक्त संयोजक श्रीपालीले एकीकृत मोर्चाले दलित समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने र आगामी कार्यक्रममार्फत संगठनलाई सक्रिय बनाउने बताए।






































