विराटनगर। भारतीय टी बोर्डले नेपाली चियामा पुनः परीक्षणको झन्झट थपेपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। भारत पुगेका चियाका ट्रकहरू गोदाममै रोकिएर हप्तौंसम्म परीक्षण रिपोर्ट कुर्नुपर्दा निर्यात प्रभावित बनेको उद्योगीहरूको गुनासो छ।

इलामका अर्थोडक्स चिया उद्योगहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् भने झापाका उद्योगहरू पनि असार ४ गतेदेखि उत्पादन रोक्ने तयारीमा छन्। उद्योगीहरूका अनुसार भारततर्फ लाखौं किलो तयारी चिया थन्किएको छ भने नेपालभित्र पनि ठूलो परिमाणमा चिया बिक्रीविहीन अवस्थामा रहेको छ।

बजारमा चिया निकास हुन नसकेपछि किसानले हरियो पत्तीको भुक्तानी पाउन सकेका छैनन्। उद्योगीहरूले उत्पादन रोक्न बाध्य हुँदा हजारौं किसान र मजदुर प्रत्यक्ष प्रभावित हुने चेतावनी दिएका छन्।

उद्योगीहरूको भनाइमा भारतले कागजमा नियम खुकुलो बनाएको देखिए पनि व्यवहारमा विभिन्न बहानामा नेपाली चिया रोकिरहेको छ। अहिलेको समस्या समाधान नभए नेपालका धेरै चिया उद्योग टिक्नै नसक्ने अवस्था आउने उनीहरूको दाबी छ।

वार्षिक अर्बौं रुपैयाँको विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्र संकटमा परेपछि उद्योगीहरूले संघीय सरकारलाई तत्काल कूटनीतिक र नीतिगत पहल गर्न आग्रह गरेका छन्।