काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २५ सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा परेकामध्ये १०० जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने, १०७ जना अवैध राइड सेयरिङ गर्ने, १३६ जना ट्राफिक बत्ती उल्लङ्घन गर्ने र १६५ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।

त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने तथा एकतर्फी सडकमा सवारी चलाउनेसहित अन्य विभिन्न नियम तोड्ने चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि निगरानी तथा कारबाहीलाई अझ कडाइ गरिएको जनाएको छ।