काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहेको भन्दै विपक्षी दलले विरोध जनाएको छ। विपक्षी सांसदहरूले बजेटमाथि छलफल हुँदा सम्बन्धित मन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने माग गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। एमाले सांसद राजेन्द्र राईले ८ वटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला ६ जना मन्त्री मात्र उपस्थित रहेको भन्दै आपत्ति जनाएका थिए।

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सदनमा उपस्थित भएका छन्। सभामुखले अन्य मन्त्रीहरू पनि आउने क्रममा रहेको जानकारी दिएपछि प्रतिनिधिसभाको बैठक पुनः सञ्चालन भएको हो। 

विपक्षी दलले बजेटमाथिको छलफललाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने धारणा राख्दै आएको छ।