काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिएको अभिव्यक्तिलाई लिएर फेरि विवाद देखिएको छ। बुधबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले एकअर्काका भनाइप्रति आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गणेश कार्कीले विरोध जनाए। उनले संसद् नियमावलीविपरीत टिप्पणी गरिएको भन्दै उक्त भनाइ अभिलेखबाट हटाउन माग गरे। कार्कीको आपत्तिपछि सभामुखले पनि सम्बन्धित अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सांसदहरूलाई संसदीय मर्यादा र नियम पालना गर्न आग्रह गरे।
यस्तै, नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रयोग गरेको ‘छाडातन्त्र’ शब्दमाथि पनि आपत्ति उठ्यो। रास्वपा सांसद इन्दिरा राना मगरले उक्त शब्द असंसदीय र अशिष्ट भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरिन्।
पछिल्ला केही बैठकयता संसदमा नीतिगत बहसभन्दा पनि सांसदहरूका अभिव्यक्ति र शब्द चयनलाई लिएर विवाद बढ्दै गएको देखिएको छ। यसले संसदभित्रको राजनीतिक ध्रुवीकरण र तिक्तता अझ प्रस्ट रूपमा देखाएको छ।




































