काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ महिनाभर सञ्चालन गरेको ‘स्वीप अपरेसन’मा १ हजार ४१० जनालाई नियन्त्रणमा लिएर विभिन्न कानुनी कारबाही गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १ हजार २१८ पुरुष, १९९ महिला र अन्य ३ जना रहेका छन्। अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले राजधानीका विभिन्न क्षेत्रमा अभियान चलाइएको थियो।

प्रहरीले ठमेल क्षेत्रबाट युगाण्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश र केन्याका २१ विदेशी महिलालाई नियन्त्रणमा लिएर निष्कासन (डिपोर्ट) गरेको जनाएको छ। उनीहरूलाई स्वदेशी तथा विदेशी नागरिकलाई दुःख हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा कारबाही गरिएको बताइएको छ।

जेठ महिनामा काठमाडौंमा १ हजार १६० वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। जसमा गम्भीर अपराध, आर्थिक अपराध तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनाहरू प्रमुख रहेका छन्।

प्रहरीका अनुसार सोही अवधिमा चालु मुद्दाका १ हजार ४ जना फरार तथा अभियुक्त पक्राउ परेका छन्। साथै हुण्डी, राजस्व चुहावट र भन्सार छलिसम्बन्धी मुद्दामा पनि कारबाही अघि बढाइएको छ।

काठमाडौंमा जेठ महिनाभर ४३४ वटा विभिन्न विरोध, धर्ना र प्रदर्शन कार्यक्रम भएको तथा ती कार्यक्रम व्यवस्थापनका लागि १० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।