काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी संकट समाधानका लागि कर्जा असुली र बचत फिर्ता अभियानलाई तीव्र बनाएको छ। समितिले जेठ महिनामा मात्रै ऋणीबाट १ करोड २० लाख रुपैयाँभन्दा बढी असुली गरेको छ।

असुली गरिएको रकमबाट ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४ सय ५२ जना साना बचतकर्तालाई ५९ लाख रुपैयाँभन्दा बढी फिर्ता गरिएको छ। १० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने काम भइरहेको समितिले जनाएको छ।

समितिका अनुसार १२ वटा सहकारीका ऋणीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ भने बचत अपचलनमा संलग्न सञ्चालक, व्यवस्थापक र पूर्वपदाधिकारीहरूको सम्पत्ति खोजी गर्न विशेष टोली परिचालन गरिएको छ।

हालसम्म १४ मध्ये ६ वटा सहकारीका साना बचतकर्ताको रकम फिर्ता भइसकेको छ। बाँकी सहकारीका करिब ४४ हजार बचतकर्ताको दाबी प्रमाणीकरण गर्ने काम जारी रहेको समितिले जनाएको छ।