विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ पदीय कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक न्यौपानेले मोरङमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रभावकारी अभियान सञ्चालन गरेका थिए। उनले चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध सेवन तथा मादक पदार्थ सेवन (ला.प.से./मा.प.से.) चेकजाँचलाई प्रभावकारी बनाउनुका साथै नियम उल्लङ्घन गर्ने चालक–परिचालकलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्य गरेका थिए।
त्यसैगरी, सिटी सफारी सेवालाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियान सुरु गरेका थिए। सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा प्रतीक्षालय निर्माण गर्नुका साथै ट्राफिक तथा पार्किङ व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायसँग समन्वय गरी ह्विल लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन, ब्यारिकेड र रिफ्लेक्टिभ ज्याकेटको प्रयोगलाई प्रभावकारी बनाएका थिए।
उनले समुदायस्तरमा निरन्तर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ट्राफिक लाइट तथा वार्निङ सोलार लाइट पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका थिए।
प्रहरी निरीक्षक न्यौपानेले सम्पादन गरेका यी उत्कृष्ट कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।






































