काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताए । उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा नै आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र बलिदानबाट स्थापित लोकतन्त्र तथा संविधानको मर्मविपरीत हुने कुनै पनि व्यवस्था नियमावलीमा समावेश गर्न नहुने धारणा राखेको बताए । संविधानसँग बाझिने र संविधानको भावना विपरित हुने प्रावधान नियमावलीमा थपिन नदिन आफूहरूले जोडदार रूपमा आवाज उठाए पनि बहुमतको बलमा नियमावली पारित गरिएको उनको आरोप थियो ।
उनले भने, ‘करिब तीन हप्तादेखि सदनमा निरन्तर रूपमा संघर्षमा छौँ । आन्दोलनमा छौँ। प्रतिपक्ष बेन्च एक ठाउँमा उभिएको छ । सबैभन्दा पहिले प्रतिनिधिसभाको नियमावली जसरी बहुमतको बलमा पास गरियो, त्यतिखेरदेखि नै यस विषयमा प्रश्न गरेका थियौँ । नेपालमा हामीले जुन आन्दोलन र बलिदानबाट स्थापित गरेको लोकतन्त्र छ र लोकतन्त्रलाई संस्थागत गरेको हाम्रो संविधान छ, त्यो संविधानसँग बाझिने गरी, संविधानको चीरहरण हुनेगरी कुनैपनि दफाहरू प्रतिनिधिसभा नियमावलीमा नथपिऊन् भनेर धेरै नै बल गर्यो । तर त्यसो गर्दागर्दै त्यसलाई बलपूर्वक पास गराइयो ।’
सांसद मल्लले आन्दोलनकै क्रममा प्रधानमन्त्री लामो प्रतिपक्षपछि संसद भवनमा उपस्थित भएको र समय लिएर रोष्ट्रम प्रयोग गरेको उल्लेख गरे । प्रधानमन्त्रीले सम्बोधनपछि प्रतिपक्षलाई प्रश्न सोध्न आग्रह गरेको भन्दै उनले आफूहरूले निरन्तर रूपमा प्रतिनिधिसभा नियमावलीतर्फ ध्यान दिन प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराउँदै आएको बताए ।
उनले प्रतिनिधिसभाको कार्यसञ्चालन संविधानको मर्म र लोकतान्त्रिक अभ्यासअनुसार हुनुपर्नेमा जोड दिए।






































