कैलाली— बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।

महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७ः१० बजे अचानक ब्रेक फेल भई सडकको बायाँतर्फको नालीमा पल्टिएको प्रहरीले जनाएको छ। बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी निवासी ४३ वर्षीय खडक बुढाले चलाइरहेका थिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ भने एक जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा, अछाम रेफर गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन्। दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।