विराटनगर— मोरङको रंगेली क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ल्याउँदै गरेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, अररिया जिल्लाका २५ वर्षीय अभिषेककुमार मण्डल रहेको प्रहरीले जनाएको छ।
आइतबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले रंगेली नगरपालिका–५ भेडुवाथानमा चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मण्डलले भाग्ने प्रयास गरेका थिए। तर प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिन सफल भएको थियो।
प्रहरीले मोटरसाइकलमा राखिएको बोरा खानतलासी गर्दा ट्रामाडोल हाइड्रोक्लोराइड नामक लागुऔषधका ३ हजार ५० पत्ता बरामद गरेको जनाएको छ। प्रत्येक पत्तामा १० वटा क्याप्सुल रहेकाले कुल ३० हजार ५ सय क्याप्सुल फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
बरामद लागुऔषध र मोटरसाइकलसहित मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा मण्डल लामो समयदेखि सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ। यस घटनामा अन्य व्यक्तिहरू वा संगठित सञ्जालको संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ। अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।






































