काठमाडौं। लगातारको वर्षाले पूर्वी पहाडमा विपत्ति निम्त्याउन थालेको छ। सङ्खुवासभामा पहिरोले घरमात्र होइन, किसानका सपनासमेत पुरिदिएको छ। तीन परिवार घरबारविहीन बनेका छन् भने धान रोप्ने तयारीमा रहेका खेतहरू पहिरोले बगाएको छ। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु। शनिबार रातिदेखिको अविरल वर्षापछि पहिरो खस्यो। केही मिनेटमै पहिरोले धनबहादुर विश्वकर्माको घर पछाडिको भाग भत्काइदियो। घर जोखिममा परेपछि चार सदस्यीय परिवार रातारात सुरक्षित स्थानमा सारियो।
यही पहिरोका कारण छिमेकी शान्तिराम पोखरेलको घरसमेत उच्च जोखिममा परेको छ। सम्भावित ठूलो दुर्घटना टार्न स्थानीय प्रशासनले दुवै परिवारलाई घर छाड्न आग्रह गरेको छ। उता खाँदबारी नगरपालिका–६ खानीडाँडामा पनि पहिरोको त्रास उस्तै छ। यारबहादुर तामाङको ६ सदस्यीय परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ।
घरमात्र होइन, पहिरोले किसानको मेहनत पनि पुरिदिएको छ। धान रोप्ने तयारीमा रहेका राजन राई, कर्ण राई र अम्बर राईका खेतहरू पहिरोले कटान गरी पुरिदिएको छ। वर्षभरिको उत्पादनको आशा बोकेका किसान यतिबेला चिन्तामा डुबेका छन्।
प्रहरी, स्थानीय तह र जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमा खटिएका छन्। जोखिममा रहेका परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि समन्वय भइरहेको छ। तर वर्षा नरोकिएको अवस्थामा स्थानीय बासिन्दामा अर्को पहिरोको डर अझै कायम छ।पहिरोको जोखिम बढ्दै जाँदा सुरक्षित बसाइ र समयमै उद्धार सबैभन्दा ठूलो चुनौती बनेको छ।





































