चितवन । प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहले भारतसँगको कालापानी–लिपुलेक सीमा विवादमा आफ्नो अभिव्यक्तिलाई लिएर उठेका आलोचनाको जवाफ दिएका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटेनलाई नेपाल–भारत सीमा विवादमा मध्यस्थकर्ता बनाउने कुनै प्रस्ताव नरहेको स्पष्ट पारे। आफूले केवल ब्रिटिश शासनकालका अभिलेख र प्रमाण खोज्ने कुरा गरेको उनको भनाइ थियो। उनले भने,‘मेरो राष्ट्रियता परीक्षण गर्ने अधिकार कसैलाई छैन’

“हामीसँग कालापानी–लिपुलेकको प्रमाण छ। ब्रिटिश शासनकालका कागजात पनि ल्याउँछौं भनेका हौं, ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं,” उनले भने।

प्रधानमन्त्री शाहले सीमा समस्या नेपाल र भारतले आपसी संवादबाटै समाधान गर्नुपर्ने धारणा राख्दै नेपालको दाबीलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाण जुटाउने प्रयास मात्र गरिएको बताए।

आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, “मेरो राष्ट्रियताप्रति कुनै आशंका गर्नु पर्दैन। देशको सार्वभौमिकता र सीमाको विषयमा सरकार स्पष्ट र दृढ छ।”