चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको भविष्य आन्तरिक एकतामाथि निर्भर रहने बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बाह्य शक्तिभन्दा गुटबन्दी र आन्तरिक विवाद नै पार्टीका लागि ठूलो चुनौती बन्न सक्ने चेतावनी दिए।
“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झिएर लड्छ। रास्वपालाई लडाउने शक्ति बाहिर कसैसँग छैन,” उनले भने।
लामिछानेले गुट–उपगुटको अभ्यासलाई विषालु बीउसँग तुलना गर्दै त्यस्तो प्रवृत्ति बढे पार्टीको आधार नै कमजोर हुने बताए। पुराना दलहरूले भोगेका विभाजन र आन्तरिक संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
उनले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई रास्वपाले कस्तो राजनीतिक संस्कार निर्माण गर्ने भन्ने निर्णायक मोडका रूपमा समेत व्याख्या गरे।
“हामी आज कस्तो बीउ रोप्ने भन्ने ठाउँमा छौं। सही संस्कार बसाल्न सक्यौं भने रास्वपालाई कसैले रोक्न सक्दैन,” उनले भने।




































