चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ ।

प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र  बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।  यसैगरी  बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ । 

सोपश्चात् दिउँसोे खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ । बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक हुने रहनेछन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो १ः०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिनुभयो । उहाँले दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने बताउनुभयो । 

यस्तै बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ः०० बजेदेखि ९ः०० बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उहाँका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ः०० बजे गरिने छ ।

यही असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो । मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने जनाइएको छ । यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । प्रथम महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा आइतबार भव्य रुपमा सम्पन्न भएको थियो ।