चितवन । सामान्यतया राजनीतिक दलका महाधिवेशनमा नेतृत्व, विचार र रणनीतिको चर्चा हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा भने एउटा फरक विषयले सबैको ध्यान तानेको छ— खानाको व्यवस्थापन।
देशभर र विदेशबाट आएका ४ हजार १ सयभन्दा बढी प्रतिनिधि चितवनमा भेला भइरहेका बेला आयोजकले उनीहरूका लागि गरेको भोजन व्यवस्थापन अहिले चर्चाको केन्द्र बनेको छ। कारण, बिहानको खानाका लागि मात्रै दैनिक ८ क्विन्टल खसीको मासु।
महाधिवेशनस्थल नजिक पुग्ने जो–कोहीले राजनीतिक नाराभन्दा बढी भान्साघरतर्फको चहलपहल देख्न सक्छ। ठूलो भाँडोमा पाकिरहेको खसीको मासु, लामबद्ध भोजन स्टल र सयौं कर्मचारीको दौडधुपले महाधिवेशनलाई कुनै विशाल भोज कार्यक्रमजस्तै बनाएको छ।
रास्वपाले प्रतिनिधिलाई बिहान ब्रेकफास्ट, मुख्य भोजन, हाइटी र बेलुकाको डिनरसहित दिनभरको खानाको व्यवस्था गरेको छ। बिहान मटनको स्वाद चख्ने प्रतिनिधिले बेलुका भने मिक्सभेज, पनिर, च्याउ र मौसमी तरकारीको परिकार पाउनेछन्।
आयोजकका अनुसार करिब ५ हजार जनालाई एकै स्थानमा ताजा खाना पकाएर खुवाउन २०० भन्दा बढी जनशक्ति परिचालन गरिएको छ। १५ वटा सेवा स्टलमार्फत खाना वितरण भइरहेको छ भने गर्मी मौसमलाई मध्यनजर गर्दै खाद्य सुरक्षामा विशेष ध्यान दिइएको दाबी गरिएको छ।
रोचक के छ भने महाधिवेशनमा सहभागी प्रतिनिधिले ५ हजार रुपैयाँ शुल्क तिरेका छन्। उक्त शुल्कबाट खानपानको व्यवस्था गरिए पनि होटल र बसोबास खर्च भने उनीहरूले आफैं व्यहोर्नुपरेको छ।
एकातिर नयाँ नेतृत्व चयन, संगठन विस्तार र आगामी राजनीतिक मार्गचित्रबारे बहस चलिरहेको छ भने अर्कोतर्फ प्रतिनिधिहरूबीच आज मटन कस्तो थियो ?भन्ने चर्चा पनि उत्तिकै सुनिन्छ।
यसले देखाउँछ, राजनीति केवल भाषण र प्रस्तावमा सीमित हुँदैन, हजारौं कार्यकर्तालाई सन्तुष्ट राख्ने व्यवस्थापन क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। रास्वपाको पहिलो महाधिवेशनमा त्यसको परीक्षण भान्साघरदेखि बन्दसत्रसम्म भइरहेको छ। खाना मात्रा होइन मोहीले पनि उत्त्किै चर्चा पाईरहेको छ । मोहीको मोह बढेको छ, एक व्यापारीले भने। महाअधिवेशन स्थलमा धेरै मोही विक्री भएको छ । राजनीतिक बहसभन्दा मोहीको चर्चा पनि बढी सुनिन थालेको छ। ४ हजारभन्दा बढी प्रतिनिधि र हजारौं समर्थकको भीडबीच महाधिवेशन स्थलमा मोहीका स्टलहरूमा सहभागीको घुइँचो लागेको छ।
स्थानीय रैथाने पेयलाई प्राथमिकता दिँदै आयोजकले डीडीसी र दुग्ध सहकारीहरूसँगको सहकार्यमा मोहीको विशेष व्यवस्था गरेका छन्। गर्मीले थलिएका कार्यकर्ता शीतलताको खोजीमा मोहीतर्फ आकर्षित हुँदा महाधिवेशन स्थल नै ‘मोहीमय’ बनेको छ। पहिलो दिनमै ७–८ हजार लिटर मोही खपत भएको वितरक बताउछन् ।
रास्वपाको पहिलो महाधिवेशनमा नेतृत्व र नीतिमाथिको बहस आफ्नै ठाउँमा छ। तर हजारौं प्रतिनिधिलाई एउटै स्थानमा व्यवस्थित भोजन गराउने चुनौती र त्यसको व्यवस्थापनले पनि उत्तिकै चर्चा बटुलेको छ। राजनीतिक एजेन्डासँगै यहाँको ‘मटन मेनु’ अहिले महाधिवेशनको अर्को आकर्षण बनेको छ।






































