चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयभन्दा लम्बिने संकेत देखिएको छ। बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला पार्टी प्रवक्ता मनिष झाले महाधिवेशन एक दिन थपिन सक्ने बताएका छन्।

प्रतिनिधि व्यवस्थापन र नामावली मिलानको काम नसकिँदा बन्दसत्र समयमै सुरु हुन नसकेको हो। यसबीच महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेर करिब ४ हजार ३ सय पुगेको र केही छुटेका प्रतिनिधिलाई समेट्ने गृहकार्य भइरहेको रास्वपाले जनाएको छ।

पार्टी नेतृत्वले ढिलाइलाई अस्वाभाविक नभएको बताउँदै महाधिवेशन लम्बिन सक्ने सम्भावनाबारे पहिले नै तयारी गरिएको जनाएको छ।

प्रतिनिधि विवाद, नामावली मिलान र बढ्दो सहभागी संख्याका कारण रास्वपाको पहिलो महाधिवेशन अपेक्षाभन्दा लम्बिने देखिएको छ। नयाँ नेतृत्व चयन र संगठनात्मक निर्णयको प्रतीक्षाबीच महाधिवेशनको अवधि थपिने भएको हो ।