काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोग मा उजुरी दर्ता भएको छ। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। उजुरीमा हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा मानव अधिकार उल्लंघन भएको आरोप लगाइएको छ।
उनीहरूले आयोगको विशेष टोली तत्काल खटाई हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन, घटनाको सत्यतथ्य छानबिन गर्न र मानव अधिकारको संरक्षण सुनिश्चित गर्न माग गरेका छन्। उजुरीमा सोह्रखुट्टे प्रहरी वृत्तको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख तथा ड्युटी रजिस्टर सुरक्षित राखी अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ।
त्यस्तै, पद र शक्तिको दुरुपयोग गर्दै हिरासत क्षेत्रमा प्रवेश गरी धम्की दिएको आरोपमा गृहमन्त्री तथा सम्बन्धित व्यक्तिमाथि छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग उजुरीकर्ताको छ।घटनाबारे आयोगले के निर्णय गर्छ र छानबिन प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
गृहमन्त्रीमाथि नै मानव अधिकार उल्लंघनको आरोप लागेर आयोगमा उजुरी दर्ता हुनु सामान्य विषय होइन।यो विषयले राज्य संयन्त्र, मानव अधिकार र कानुनी जवाफदेहितामाथि नयाँ बहस समेत सुरु गराएको छ।





































