काठमाडौं— सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले बाह्रबिसे नगरपालिका वडा नम्बर ३ खाग्दलबाट जुगल गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय राम कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गोप्य सूचनाका आधारमा तातोपानीबाट बाह्रबिसे आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी जाँच गर्दा भेप बरामद गरेको हो । बरामद भएका कुल ७ हजार ७ सय थान विभिन्न ब्रान्डका भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता जेसी शाहका अनुसार, पक्राउ परेका श्रेष्ठ र बरामद सामानलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको छ।





































