काठमाडौं— बहुचर्चित राहदानी छपाइ ठेक्का प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जना प्रतिवादीलाई मंगलबार थुनछेक बहसका लागि विशेष अदालत उपस्थित गराइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २ गते अर्याललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। विस्तृत अनुसन्धानपछि आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीमध्ये हाल नियन्त्रणमा रहेका सात जनामाथि विशेष अदालतमा बयान लिने प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार इजलासमा बयानको काम भइरहेको छ। बयान सकिएमा आजै थुनछेक बहस सम्पन्न भई अदालतले आवश्यक आदेश दिन सक्नेछ। अन्यथा मुद्दा हेर्दाहेर्दैमा राखिने सम्भावना रहेको छ।

मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यलगायतलाई प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४ सय ७७ रुपैयाँ बिगो दाबी गरेको छ।

आयोगले सरकारी कर्मचारी, निजी कम्पनी तथा विदेशी नागरिकसमेतलाई प्रतिवादी बनाउँदै कुल १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। यस प्रकरणलाई हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दामध्ये एक मानिएको छ।