काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।
मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिक र बाँकि आठ जनालाई पक्राउ गरिएको थियो। यस्तै खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित कैलारी गाउँपालिका–७ हौसलपुरबाट भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।
साथै टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । स्थानीय ३१ वर्षका गणेश थापालाई लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ७ असारमा मात्रै धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट ११ युवालाई लागूऔषध खैरो हिरोइन, चरेश र गाँजासहित पक्राउ गरेको थियो ।






































