काठमाडौं— नेपाल प्रहरीले जेठ महिनाभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत देशभरबाट २ हजार १ सय ८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशबाट ५ सय ३९ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशबाट ३ सय ६०, काठमाडौं उपत्यकाबाट ३ सय २६, लुम्बिनीबाट ३ सय २० र कोशी प्रदेशबाट ३ सय ५ जना पक्राउ परेका छन्। अन्य प्रदेशहरूमा पनि फरार प्रतिवादी पक्राउ अभियान जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरूविरुद्ध अदालतबाट तोकिएको कुल ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ। साथै उनीहरूबाट २३ करोड ४४ लाख रुपैयाँभन्दा बढी जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ।

हत्या, लागूऔषध, बलात्कार, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियानलाई तीव्रता दिएको बताएको छ।