काठमाडौं— पत्रकार विनोद ढकाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ढकालविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा दर्ता भएको उजुरीका आधारमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही पुर्जी कार्यान्वयन गर्दै उनलाई पक्राउ गरिएको हो।
ढकालले आफ्नो फेसबुकमार्फत प्रहरी महानिरीक्षक दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिहरूविरुद्ध विभिन्न टिप्पणी गरेको आरोप छ।
क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहेका ढकाललाई थप अनुसन्धानका लागि सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



































