काभ्रेपलाञ्चोक। रोशी खोलाको जलाधार क्षेत्रमा लगातार वर्षा भएपछि सम्भावित बाढी र सडक जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार सडक सुरक्षित रहेको पुष्टि नभएसम्म सवारीसाधन ‘होल्ड’ गर्ने निर्णय गरिएको हो। अवस्था सामान्य भएपछि मात्रै पुनः यातायात सञ्चालनबारे सूचना जारी गरिने उनले बताए।
प्रहरीले यात्रु र चालकलाई अत्यावश्यक बाहेक बीपी राजमार्ग प्रयोग नगर्न, मौसमको अवस्था निरन्तर निगरानी गर्न तथा आवश्यक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ।






































