काठमाडौं । बहुचर्चित घुसकाण्डमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस लिएको अभियोगमा ८ वर्ष ६ महिना कैद र करोडौँ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
अदालतले व्यवसायी दिपक आनन्दलाई पनि घुस दिएको अभियोगमा ८ वर्ष कैद सजाय सुनाएको छ। पौडेल विशिष्ट तहको सार्वजनिक पदमा रहेर भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै अदालतले अतिरिक्त ६ महिना कैद थप गरेको हो।
फैसलाअनुसार घुसको रकम प्रत्यक्ष रूपमा बरामद नभए पनि आरोपित दुवैलाई १ करोड ५४ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ। घुस लेनदेनको कुल रकम करिब ३ करोड ८ लाख रुपैयाँ रहेको अभियोगका आधारमा जरिवाना निर्धारण गरिएको अदालतले जनाएको छ। यो फैसला सार्वजनिक पदमा बसेर हुने भ्रष्टाचारविरुद्धको महत्त्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।






































