काठमाडौं। उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२र८३ मा न्याय सम्पादनतर्फ उल्लेखनीय सफलता हासिल गरेको छ। अदालतले २ वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्दै शून्यमा झारेको जनाएको छ, जुन यस अदालतका लागि ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
यस वर्ष अदालतले ६६ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकोमा ७१।०५ प्रतिशत मुद्दा टुंग्याएर लक्ष्यसमेत पार गरेको छ। कुल १६ हजार १३९ मुद्दामध्ये ११ हजार ४६८ मुद्दा फर्छ्योट भएको अदालतको तथ्यांक छ।
अदालतले भर्चुअल सुनुवाइ, अनलाइन बकपत्र, डिजिटल मिसिल स्क्यानिङ र ई–हाजिरी जस्ता प्रविधिको प्रयोग बढाउँदै न्याय सम्पादनलाई थप छिटो र सेवाग्राहीमैत्री बनाएको जनाएको छ। साथै, थुनुवा मुद्दा, रिट निवेदन र पुराना बक्यौता मुद्दा घटाउन पनि उल्लेखनीय प्रगति भएको अदालतको दाबी छ।






































