काठमाडौं । प्रदेश सरकारको नयाँ सत्ता समीकरणलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक भूमिकामा देखिएका छन्। श्रीलंका भ्रमणबाट फर्किएलगत्तै उनले शीर्ष तहमा लगातार राजनीतिक संवाद सुरु गरेका छन्।
सोमबार बिहान प्रचण्डले सहसंयोजक माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै भेटेर प्रदेश सरकारको बदलिँदो समीकरण, कांग्रेस–एमालेबीच बढेको मतभेद र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्। स्वास्थ्य समस्याका कारण आराम गरिरहेका नेपालसँगको भेटमा सम्भावित राजनीतिक विकल्पबारे समेत विचार–विमर्श भएको बताइएको छ।
यसअघि आइतबार साँझ प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए। अब उनी ओलीसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारीमा छन्। त्यसपछि कांग्रेस सभापति गगन थापासँग पनि छलफल गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
प्रदेशमा कांग्रेस–एमाले गठबन्धन कमजोर बन्दै गएपछि दुवै दलले नेकपालाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन्। सुदूरपश्चिममा सत्ता समीकरण फेरिइसकेको छ भने कर्णाली र बागमतीमा पनि सरकार परिवर्तनको चर्चा तीव्र छ।
यद्यपि नेकपाभित्र भने प्रदेश सरकारको सत्ता खेलमा सहभागी नहुनुपर्ने मत पनि बलियो रहेको छ। पार्टीका केही नेताहरूले सरकार परिवर्तनको राजनीतिले संघीय व्यवस्थाप्रति जनविश्वास कमजोर बन्न सक्ने भन्दै नेतृत्वलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
यही कारण प्रचण्डले कांग्रेस र एमालेबीच सहमति भए उनीहरूले नै प्रदेश सरकार सञ्चालन गर्नुपर्ने धारणा राख्दै आएका छन्। तर सहमति जुट्न नसके राजनीतिक अस्थिरता रोक्न आवश्यक निर्णय लिनुपर्ने संकेत पनि उनले दिएका छन्। यस्तो अवस्थामा प्रदेश सरकारको आगामी समीकरणमा प्रचण्डको निर्णयलाई सबै दलले चासोका साथ हेरिरहेका छन्।






































