काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे कांग्रेसको स्पष्ट अडान सार्वजनिक गरेका छन्। उनले कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन हुने अवस्था स्वीकार्य नहुने भन्दै आवश्यक परे कांग्रेस प्रतिपक्षमै बस्न तयार रहेको बताएका छन्।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले प्रदेश सरकार गठन वा पुनर्गठन गर्दा सबै दल सरकारमै रहने अभ्यास संविधानको भावना विपरीत हुने बताए। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा बलियो प्रतिपक्ष अनिवार्य भएकाले त्यसलाई समाप्त गर्ने खालको समीकरण बन्न नहुने कांग्रेसको ‘बटमलाइन’ हो।

उनले प्रदेश सरकारका विषयमा दलहरूबीच संवाद जारी रहेको र सहमतिमै समाधान खोजिने विश्वास व्यक्त गरे। संविधानको मूल मर्म, लोकतान्त्रिक मूल्य र राजनीतिक सहअस्तित्वलाई कायम राखेर मात्रै नयाँ समीकरणमा पुग्नुपर्ने उनको भनाइ थियो।