दाङ। दाङको गौरीगंगा नगरपालिका–८ स्थित शिवशक्ति सामुदायिक वनमा सालको रूखमा लुकाएर राखिएको अवस्थामा प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले वनभित्रको रूखमा लुकाइराखिएको बन्दुक फेला पारेको हो।
प्रहरीको अनुसन्धानपछि उक्त बन्दुक सोही क्षेत्रको देउराली टोलका २९ वर्षीय पदम दर्लामी मगर को रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार बरामद गरिएको भरुवा बन्दुक किन र कस्तो उद्देश्यले वनभित्र लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका मगरमाथि प्रचलित कानुनअनुसार हतियारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





































