मोरङ । सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि भएको दुर्व्यवहार प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा विद्यालयका नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि छात्रालाई अश्लील सन्देश पठाएको आरोपमा विद्यालयका एक सवारी चालक र दुई शिक्षक पक्राउ परिसकेका थिए। विद्यार्थीहरूले आन्दोलनको तयारी गरेपछि घटनाको अनुसन्धान तीव्र बनाइएको हो।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि विद्यार्थीमाथि भएको दुर्व्यवहार सम्बन्धी घटनामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। विद्यालयभित्र भएको घटनाले अभिभावक र स्थानीय तहमा समेत गम्भीर चासो बढाएको छ।