काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७२ देखि २०८२ सम्मको दशकलाई कांग्रेस र देश दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दशक भएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले पछिल्लो १० वर्षमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी हुँदा नागरिकका मुद्दा ओझेलमा परेको आरोप लगाए। उनका अनुसार सत्ताको दौडमा राष्ट्रिय हित र जनताका सरोकारलाई बेवास्ता गरिएको छ।
थापाले आफू सिद्धान्तका लागि संघर्ष गर्न तयार रहेको दोहोर्याउँदै, आवश्यक परे जेल बस्न वा ठूलो मूल्य चुकाउन पनि पछि नहट्ने बताए। उनले पछिल्लो दशकको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको स्वीकार गरे। थापाको भनाइले कांग्रेसभित्र सत्ता केन्द्रित राजनीतिमाथि आत्मसमीक्षा सुरु भएको संकेत दिएको छ।





































