जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राजनीतिक सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण सिर्जना गरेको र त्यसअनुसार एमालेसँगको सहकार्यलाई औपचारिक रूपमा अगाडि बढाइएको जानकारी दिए।


प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थितिले नयाँ ध्रुवीकरणतर्फ संकेत गरिरहेको उल्लेख गर्दै वामपन्थी शक्तिहरूबीचको सहकार्यले आगामी राजनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस विषयमा विभिन्न तहमा छलफल र संवाद भइरहेको पनि बताए।


तीन दलबीच भएको समझदारी सकिएको हो भन्ने प्रश्नमा उनले तत्काल कुनै निष्कर्षमा पुग्न नहुने भन्दै त्यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिए। साथै, नेपाली कांग्रेससँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै राजनीतिक समीकरणबारे स्पष्ट तस्वीर सार्वजनिक हुने संकेत गरे।


प्रचण्डले संघीय राजनीतिसँगै प्रदेश सरकारहरूमा पनि नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना रहेको बताए। उनका अनुसार केन्द्रमा हुने राजनीतिक सहमतिले प्रदेश सरकारहरूको संरचना र गठबन्धनमा समेत प्रभाव पार्न सक्छ।


दुईदिने मधेश प्रदेश भ्रमणमा रहेका प्रचण्डले महोत्तरी र धनुषा जिल्लामा आयोजना हुने विभिन्न राजनीतिक तथा संगठनात्मक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। उनका पछिल्ला अभिव्यक्तिलाई आगामी सत्ता समीकरण र वाम राजनीतिक सहकार्यसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।