काठमाडौं । कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्।मंगलबार चाँदनी चोकमा उनले चलाइरहेको बा।५ च ३०३८ नम्बरको किया कारमा एक्कासी आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सुरुमा कारभित्र सामान्य धुवाँ र सानो आगो देखिए पनि केही क्षणमै आगोले विकराल रूप लिएको थियो।

प्रहरी र स्थानीयवासीले अग्नि नियन्त्रण यन्त्र प्रयोग गरी आगो निभाए पनि श्रेष्ठको ज्यान जोगाउन सकेनन्। परिवारले शवको सनाखत गरिसकेको छ भने पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार उक्त कार २०६२ सालमा बैंक ऋणमार्फत खरिद गरिएको थियो। आगलागीको वास्तविक कारण भने अझै खुलेको छैन। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।