बितामोड / सर्वोच्च अदालतको आदेशले नेकपाको अन्त्य सँगै एमाले र माओवादीले पुर्नजन्म पाएपछि नेकपाका दुवै समुहका सांसद तानतानमा परेका छन् । नेकपामा भएको फुटसँगै सुरु भएको सांसद तानातानको क्रममा परेका सांसदहरु फेरि एक अर्को दलको तानातानमा परेका हुन् । सांसद एक अर्को समुहमा तानातानमा रहेकै वेला प्रदेश २ का तीन प्रदेश सांसद भने आफ्नै मुल घर फर्किने भएका छन्।
नेकपामा आएको फुटसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका तीन सांसद आफ्नै पार्टीमा फर्किने भएका हुन् । संसद विघटनपछि ओलीको पक्षमा लागेका चार साँसद मध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो। समिरले माओवादीमै फर्किने संकेत गरेका हुन्। माओवादी केन्द्रबाट सांसद बनेकी ज्वालाकुमारी साह भने ओली पक्षबाट नफर्किने भएकी छन् । ओली पक्षमा लागेको भनिएका प्रदेश सांसद कुन्दन कुशवाहाले आफु अर्को समुहमा नगएको वताएका छन् ।
त्यस्तै ओली पक्षमा लागेका माओवादीका तत्कालीन संसदीय दलका नेता समेत रहेका रामचन्द्र मण्डलले भने आफु पार्टीमा फर्किने वा नफर्किने विषयमा छलफल मै रहेको बताएका छन्।
अर्का सांसद सांसद दिलीप साहले आफु पार्टी दुई कित्तामा विभाजन हुँदा पनि तटस्थ नै रहेको जानकारी गराउँदै अहिले पार्टी ब्युँतिएपछि पनि माओवादीमै रहने बताएका छन् । उनले आफु ओली पक्षमा लागेको भनेर अफवाह मात्रै फैलाइएको दावी समेत गरेका छन् ।
प्रदेश २ मा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ जना सांसद छन्। दुवै दल एकता हुँदा नेकपामा ३२ जना सांसद रहेका थिए। तर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाका सांसदहरु दुई गुटमा विभाजित भएका थिए।जसमध्ये प्रचण्ड–माधव पक्षमा १९ जना सांसद थिए भने १३ जना ओली पक्षमा लागेका थिए ।






































