काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास निर्माणमा अब पुरानै नीति होइन, 'पूर्णरूपमा नयाँ सोच' ल्याउने घोषणा गर्दै संसद हल तताएका छन्! प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले यसपटकको नीति कार्यक्रम पुरानै ढाँचाको भनेर होच्याउनु ठूलो भ्रम भएको दाबी गरे।
उनले स्पष्ट पारे, अबको नीति कार्यक्रमले विकासको ढाँचा, गति र संस्कृति नै परिवर्तन गर्ने हो, जुन पूर्ण रूपमा नयाँ हो र व्यवहारमा लागू गर्ने दृढ प्रतिबद्धता पनि सरकारसँग रहेको छ।
प्रधानमन्त्री ओलीले विकास निर्माणमा देखिएका कमी कमजोरीलाई सच्याउँदै विगतमा घोषणा गरिएका सबै पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण हुने र नकाम भएका, सम्भावना नभएका योजना तात्कालिक रूपमा रोक्ने नीति लिइने बताए।
त्यसैगरी, उनले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन, तोकिएको समयमा परियोजना सम्पन्न गराउने योजना र स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धनका लागि इकोसिस्टम बनाउने नयाँ सोचको पनि परिचय दिए।
अझ रोचक कुरा, प्रधानमन्त्रीले संविधान संशोधन समेत सहमतिको आधारमा अगाडि बढाउने र राजनैतिक स्थायित्व कायम राख्ने “नयाँ राजनीतिक समझदारी” को संकेतसमेत दिएका छन्।
                    
                                        
                                                                                                
        








        




























