काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्दै उनले वैज्ञानिक समाजवाद प्राप्त गर्न अब समाजवादको क्रान्ति गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘तीनवटा प्रवृत्तिले अहिले नेपाल ग्रस्त छ । सत्तामा यथास्थितीवाद, वामपन्थी आन्दोलनमा दक्षिणपन्थीवाद, त्यसपछि सडकमा पूर्नउत्थानवादले नेपाल ग्रस्त छ । यो खतराको संकेत हो । त्यसकारण देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले विल्कुल नयाँ धरातलबाट कहाँ के के गल्ती भयो छाती छाम्दै नयाँ धरातलबाट हिड्नु बाहेक अर्को विकल्प छैन् । यदी हामीले वैज्ञानिक समाजवाद प्राप्त गर्नुछ भने अब समाजवादको क्रान्ति गर्ने हो नि त । त्यसको लागि एकदम आधारभूत कुराहरु सोच्नुपर्ने आवश्यकता छ ।’
साथै उनले अहिलेको संसदीय व्यवस्था पूँजीवादी भएको बताए । उनले अहिलेको व्यवस्था पूँजीवादी भएकाले त्यसमा केही तत्वहरु मात्र थप्न सफल भएको बताए ।
उनले भने, ‘हाम्रो अहिलेको व्यवस्था पूँजीवादी हो । अहिलेको संसदीय व्यवस्था पूँजीवादी व्यवस्था हो । जसमा समाजवादी केही तत्वहरु मात्र थप्न सफल भएका छौँ ।’