कैलाली — गए रातिदेखिको लगातार वर्षाका कारण धनगढी बजार र आसपासका धेरै क्षेत्र आज बिहानदेखि जलमग्न भएका छन्। विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार र कटान गाउँको दक्षिण क्षेत्रमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन्।

भारी वर्षाले सडक र नालीहरू भरिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। धेरै पसलहरू पनि पानीमा डुबेका छन्। स्थानीयहरूका अनुसार, पुराना र अव्यवस्थित नाली तथा पानी निकास प्रणाली प्रभावकारी नहुँदा वर्षात्को समयमा डुबानको समस्या बारम्बार दोहोरिँदै आएको छ।

वर्षैपिच्छे डुबानको समस्या हुनुमा खोलानाला अतिक्रमण प्रमुख कारण रहेको स्थानीयवासीहरू बताउँछन्। “सडक त पिच हुन्छ, तर ढलको व्यवस्थापन नगरी, जसका कारण पानी जमेर बस्ती डुब्ने अवस्था आउँछ,” स्थानीय अगुवा शिवराज जोशीले बताए।

वडा नं २ का अध्यक्ष धर्मराज ओझाले पनि खोलानालाहरू मासिँदै जाँदा डुबानको समस्या अझ जटिल बन्दै गएको बताए।

यद्यपि, लगातारको वर्षाले धनगढीका विभिन्न क्षेत्र जलमग्न भए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण भने नआएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।