काठमाडौं— विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गर्दै १८ भदौसम्म पनि माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकमा राखिएको ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै निजी विद्यालय सञ्चालकहरूले गत केही सातादेखि आन्दोलन गर्दै आएका छन् । पहिलो चरणको आन्दोलन आज (१२ भदौ) सकिएको छ भने दोस्रो चरणका कार्यक्रम सुरु भएका छन् ।