पर्सा— पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान झलमहिया र भिस्वा जोड्ने सडकखण्डको कल्भर्टमुनि २७ वर्षीय रमेश साह कानुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतक रमेश सोही वडाका स्थायी बासिन्दा हुन्। उनी भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ भएको मोटरसाइकलसहित कल्भर्टमुनि पानीमा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले घटनास्थलको प्रारम्भिक निरीक्षण र मृतकको शारीरिक अवस्था हेर्दा मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको अनुमान गरिएको जानकारी दिए। यद्यपि घटनाबारे थप अनुसन्धान जारी रहेको उनले स्पष्ट पारे।
घटनास्थल आसपासका स्थानीयवासीले बिहानै मृतक र मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाएको छ।