काठमाडौं— देशभर बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव कायम रहेकोले अहिले अधिकांश भू–भागमा झरी परिरहेको छ। काठमाडौं उपत्यकालगायत धेरै ठाउँमा हिजो बेलुकीदेखि नै झरी जारी छ, जसले जनजीवन प्रभावित बनाएको छ।

रातभर परेको पानीका कारण विभिन्न राजमार्गमा पहिरो खसेको खबर आएको छ, जसले यातायात अवरुद्ध भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

महाशाखाले विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा धेरै भारी वर्षा हुनसक्ने चेतावनीसमेत दिएको छ। मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश भागमा आकाश ढाकिएको रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ।

भोलिसम्म लगातार झरी पर्ने देखिएकाले बाढी, पहिरो, सडक अवरुद्ध जस्ता जोखिमहरू बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।