काठमाडौं— देशभर सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलका ७ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। साथै, ६३ जिल्लामा माइकिङमार्फत सर्वसाधारणलाई सतर्क रहन आह्वान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपद् प्रतिकार्य शाखाका प्रमुख एवं उपसचिव रामबहादुर केसीका अनुसार हालसम्म ७ हजार ३१५ जना सशस्त्र प्रहरी प्रत्यक्ष रूपमा विपद् प्रतिकार्यमा खटिइसकेका छन्।

जनस्तरमा चेतना फैलाउन विभिन्न टोलीले जिल्ला जिल्लामा माइकिङ गरेर सुरक्षित रहन अनुरोध गरिरहेको छ। विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन २६ वटा प्रतिकार्य वेश सञ्चालनमा ल्याइएको छ, जसमा ९ वटाको स्थापना पहिल्यै भइसकेको थियो।

यसका साथै, ९९० जना स्वयमसेवकहरूलाई १८ दिने तालिकाअनुसार तालिम दिइएको छ र उनीहरूलाई आवश्यक परे तुरुन्त खटिनसक्ने गरी तयारी अवस्थामा राखिएको उपसचिव केसीले जानकारी दिए।

प्राधिकरणका अनुसार उद्धार तथा राहत कार्यका लागि आवश्यक उपकरणहरू पनि तयारी अवस्थामा छन् र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिनेछ।