काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले वर्षा यामसँगै बढ्न सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सजग रहन आग्रह गरेको छ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै आयोगले प्राकृतिक विपद्को पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै, विपद् घट्नुअघि नै जनसाधारणमा जानकारी पुर्‍याउने, जोखिममा रहेका व्यक्तिहरूको पहिचान र उद्धार गर्ने कार्य राज्यको दायित्व भएको स्पष्ट पारेको छ।

आयोगले विपद् व्यवस्थापनमा सरकार मात्र नभई सबै पक्षको सहकार्य अपरिहार्य भएको बताउँदै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवा वर्ग तथा विभिन्न संघ-संस्थाहरूलाई उद्धार र पूर्वतयारीमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।