चितवन— लगातारको वर्षासँगै तुइनखोलामा माथिबाट ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएपछि चितवनका विभिन्न १४ स्थानमा सवारीसाधन रोकिएका छन्।
शनिबार विहानबाटै तुइनखोलामा ढुंगा खस्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुरक्षाको दृष्टिकोणले सडकमा सवारी आवागमन तत्कालका लागि पूर्णरूपमा रोकिएको छ।
नारायणगढदेखि मुग्लिनसम्मको खण्डमा यात्रा गरिरहेका सयौं सवारीसाधन चितवनका विभिन्न स्थानहरूमा रोकिएका प्रहरीको भनाइ छ । लगातार झरीका कारण पहिरोको जोखिम बढेको भन्दै अत्यावश्यक बाहेकका सवारीसाधनहरूलाई यात्रा नगर्न समेत अनुरोध गरिएको छ।
सडक खुलाउने प्रयास सुरु गरिएको भए पनि लगातार वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ। सडक खुलाउनेबारे थप निर्णय मौसमको अवस्थालाई हेरेर गरिने छ।
प्रहरी र सडक डिभिजन कार्यालयले यात्रुहरूलाई धैर्य गर्न र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन्।