काठमाडौं— लगातारको वर्षाका कारण पाँचथरका प्रमुख राजमार्ग तथा आन्तरिक सडकहरू अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिल्लाभरिमा १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
पहिरोको धेरै प्रभाव मेची राजमार्गमा परेको छ । पाँच स्थानमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । फाल्गुनन्द गाउँपालिका– ३ को रमाइलो चोक, पौवा चोक, चिम्फुला, फिदिम नगरपालिका– ३ को चिज फ्याक्ट्री र लालीखर्कमा ठूला पहिरो खसेको छ ।
त्यस्तै, तुम्वेवा गाउँपालिका– २ को नावाखोला क्षेत्रमा तमोर करिडोर सडक दुई स्थानमा अवरुद्ध भएको छ । एकातर्फ पहिरो खसेको छ भने अर्को ठाउँमा नदीको पानीको बहाब बढेर सडक पुरिएको छ ।
उता, फालेलुङ गाउँपालिका– ८ को आकाशे भञ्ज्याङ र फिदिम नगरपालिका– १ र ११ को सिमानामा पर्ने फेमेखोलामा आएको बाढीले फिदिम–फालाटे सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ । यस्तै, याङवरक गाउँपालिका– २ को दोभाने र वडा नम्बर ३ को रिजाल भिरमा पनि मध्यपहाडी लोकमार्गमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएको छ ।
त्यसैगरी, फिदिम नगरपालिका– १२ को पिपलबोटे–बुधुक भित्री सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।